दफा ११
प्रविधि तथा परामर्श सेवा

(१) प्रत्येक चिकित्सक, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले सेवा उपलब्ध गराउँदा सामान्यतयाः देहाय बमोजिमको प्रविधि अपनाउनु पर्नेछ ः–
(क) बाह्र हप्तासम्मको अवधिको गर्भको लागि म्यानुयल भ्याकुम एसपिरेसन (एम.भि.ए.), ईलेक्ट्रोनिक भ्याकुम एसपिरेसन (ई.भी.ए.), फर्माकोलोजिकल र डायलेटेसन तथा क्यूरेटज (डी एण्ड सी),
(ख) बाह्र हप्ता भन्दा बढी अवधिको लागि खण्ड (क) मा उल्लेखित प्रविधिको अतिरिक्त डायलेटेसन तथा इभाक्वेसन (डी एण्ड ई) र
पेशागत हिसाबले उपयुक्त ठहरिएको अन्य कुनै प्रविधि ।
(२) चिकित्सकले सेवा उपलब्ध गराउँदा वा सो विषयमा राय दिंदा वा स्वास्थ्यकर्मीले सेवा उपलब्ध गराउँदा उपदफा (१) बमोजिमको प्रविधिक प्रक्रिया अपनाई सुरक्षित गर्भपतन गराउँदा प्राविधिक दृष्टिले सम्बन्धित गर्भवती महिलालाई हुन सक्ने शारीरिक हानी नोक्सानीको संभावित जोखिम, यसका बेफाइदा, विकल्प तथा परिवार स्वास्थ्य एवं परिवार नियोजनका विषयमा समेत परामर्श सेवा उपलब्ध गराउनु पर्नेछ ।